तेह्रथुम ९ असार ः म्याङलुङमा लागुऔषध ट्रामाडोल र प्रतिबन्धित औषधि सहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
लागुऔषध ट्रामाडोल , स्पाज्मो र स्पाजपेन ट्याब्लेट गरी जम्मा तीन हजार ९७ वटा गोटी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुई जना नबालक सहित म्यालुङ नगरपालिकाकै २१ वर्षिया बिक्रम वाईवा, १८ वर्षिया सँगम गुरुङ र प्रयुश लिम्बू रहेका छन् ।
विशेष सुराकीको आधारमा प्रहरी चौकी जिरिखिम्ती र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीको टोलीले जिरिखिम्ती र म्याङलुङबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताउनुभयो ।
संगठित रुपमा प्रतिबन्धित औषधि तराईको जिल्लाबाट ल्याएर बिक्री वितरण र सेवन गर्ने गरेको सुराकीको आधारमा लामो समयको अनुसन्धानबाट पक्रन सफल भएको प्रहरी नायव उपरिक्षक दाहालको भनाई छ ।
पछिल्लो समयमा लागु औषध ओसार प्रसार गर्ने गिरोहमाथि प्रहरीले निगरानी बढाउन थालेपछि यो सफलता हासिल भएको हो र समाजमा यस किसिमको गतिविधि रोक्न वा नियन्त्रण गर्न सबै नागरिकले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्नै उपरीक्षक दाहालको भनाई छ ।–––