संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने –मुख्यमन्त्री कार्की

Logo
Nav Nepal शुक्रबार, कार्तिक १६, २०८१

विराटनगर,१६ कात्तिक ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पूर्ण नेपालीहरुका संस्कृति र परम्परा संरक्षणबाट मुलुक समृद्धि झल्किने बताउनु भएको छ।
विराटनगर–१३ स्थित मुख्यमन्त्री निवासमा आज मोरङका पत्रकारहरुले देउसी खेल्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले नेपालीहरुको दोस्रो ठूलो चाँड तिहारले सम्पूर्ण मुलुकवासीहरुमा सामाजिक सद्भाव कायम राखि एक सुत्रमा बाँध्न सहयोग पुगेको बताउनु भयो ।
उहाँले यही वर्ष प्रदेशमा हुने लगानी,चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणाले यस क्षेत्रमा आर्थिक चलायमान, रोजगार वृद्धि,नागरिकको जीवनस्तर उकास्न, विदेशी मुद्रा आर्जनमा महत्पूर्ण सहयोग पुग्ने विचार राख्नु भयो ।
उहाँले तीनवटै कार्यक्रमलाई भव्य बनाउने प्रदेश सरकारको योजना भएकाले आवश्यक प्रचारप्रसारको काममा सहयोग गर्न पत्रकारहरुसमक्ष आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय क्षेत्रहरुको विविध पक्षहरुबारे सञ्चार माध्यम ल्याईदिनु होला ।’ कोशी प्रदेशको पर्यटन क्षेत्र, होटल, होमस्टे लगायतबारे सञ्चारमाध्यमले प्रकाशन प्रसारण गरेर सहयोग गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।
कार्यतालिका तयारीपछि भारतीय पर्यटकहरुलाई लक्षित गरि झापाको काकडभिट्टा र विराटनगर रानी क्षेत्रमा पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षहरुसहितको जानकारी दिनेगरि सूचना केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले अघिसारेको पर्यटन वर्ष, लगानी र चिया सम्मेलन प्रदेशकै गौरवको विषय भएको उहाँले बताउनुभयो । तीनवटै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने मुख्यमन्त्री कार्कीको भनाई रहेको छ ।
प्रदेश सरकारले गत असोज ११ गते आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको थियो । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त घोषणा गर्नुभएको थियो ।
‘रमणीय कोशी’ भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरिएको छ । पर्यटन वर्षका लागि सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको छ ।
प्रदेश सरकारले माघ महिनामा पहिलो लगानी सम्मेलन गर्दै छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र प्रदेशमा आद्योगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो ।
प्रदेश लगानी प्राधिकरणले सम्मेलनका लागि समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो ।
प्रदेश सरकारले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी गरेको छ ।
देउसी खेल्ने कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुईटल, प्रेस चौतारी नेपाल कोशीका उपाध्यक्ष सुमन पुरी, चौतारी मोरङ अध्यक्ष सुदिप कोइराला र नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पि अधिकारी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077