विराटनगर, २१ कात्तिक ः कोशी प्रदेश सरकारको प्रवक्त्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ ।
आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषदको बैठकले मन्त्री राईलाई प्रवक्त्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्खीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि–२०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९ ) मा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप रु नौ करोड बजेट स्वीकृत गरेको सरकारका प्रवक्त्ता मन्त्री राईले जानकारी दिनुभयो ।–––