विराटनगर, २१ कात्तिक ः विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम प्रदेशले उपाधि हासिल गरेको छ ।
सुदूररले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
यस अघि २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । उपाधि जितेको सुदूरले नगद र दुई लाख सहित ट्रफि तथा उपविजेता लुम्बिनीले रु एक लाख सहित ट्रफि हात पारे ।
टस जितेर ब्याटिङ गरेको गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई एक सय २७ रनको योगफल बनायो । सुदूरका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।
एक सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाई एक सय १९ रन मात्र बनाउँन सक्यो । लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २÷२ विकेट लिए ।
प्रतयोगिताको उत्कृष्ट खेलाडि लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद रु ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले जनही नगद रु २५ हजार सहित ट्रफि हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद रु तीन हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।
विजयी तथा अन्य खेलाडिलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबु लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।–––