विराटनगर,३ मङ्सिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले संचालन गरेको तालीमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनु भएको छ।
परिषद पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा आज यहाँ आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले वर्तमान आवश्यक्तालाई ध्यानमा राखी आफ्ना प्रोग्रामलाई विविधिकरण गर्नु पर्ने सुझाव दिनु भयो ।
मुख्यमन्त्री कार्कीले तीन तहको सरकारको बीच समन्वय कायम गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद पुनसंरचना गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरुको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यस सम्बन्धी तालीम सञ्चालन गर्नुपर्ने सुझाव दिनु भयो ।
उहाँले स्पष्ट रणनीति र कार्यनिधिको अभावमा पछिल्लो दिनमा प्राविधिक शिक्षालयमा विद्यार्थीहरुको अभावमा ताला लगाउनु पर्ने अवस्थामा सिर्जना भएकामा चिन्ता व्यक्त गर्दै यस विषयमा गहिरो छलफल गरी सार्थक निश्कर्षमा पु¥याउनु जरुरी रहेको धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्र्तीण विद्यार्थीहरुलाई छ महिनाको सूचना प्रविधिको तालीम एवं ल्यापटप उपलव्ध गराई स्वरोजगा बनाउने कार्य अगाडि वढाइरहेको जानकारी दिनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमख नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषदले तालीम दिनुपर्ने सुझाव दिनु भयो ।
नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्न आग्रह गर्नु भयो ।
परिषदका सदस्य सचिव ई मोहन भट्टराईले व्यवसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको धारणा राख्नु भयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले परिषदको विकेन्द्रीकरणगरी प्रदेश सरकारको नेतृत्वमा परिषद सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझाव दिनु भयो ।
प्राविधिक परिषद पुनसंरचना उच्चस्तरीय कार्य टोलीकी संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यवसायिक तालीमको स्तरवद्धि गर्न नागरिक शिक्षा,वैज्ञानिक, रोजगार मुलुक र राष्ट्रका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव संकलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।
अन्तरक्रियामा प्रदेशमा परिषदद्वारा सञ्चालित तालीम केन्द्र,निजी,सरकारीको प्रतिनिधित्व रहेको थियो ।
प्रदेशमा परिषदको आङ्गिक सात ,सरकारी ४१ र ५० बटा नीजि प्राविधिक शिक्षालय सञ्चालनमा रहेको छ।