विराटनगर, १० मङसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ।
नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित उखु खेती प्रवद्र्धनको लागि कृषकहरुको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिना भित्र कृषक,उखु मिल र सरकारबीच त्रिपक्षीय छलफल सहित निश्कर्ष निकाली सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादन वृद्धिका लागि कृषकले सिंचाईमा प्रयोग गर्ने विद्युत र मलखादमा आवश्यक अनुदान समेत दिने जानकारी दिनु भयो ।
उहाँले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चा पदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापनभै विदेशी मुद्रा बचत हुने विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु ,धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफ्नौ निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताउनु भयो ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनका साथै बार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी जानकारी दिनु भयो ।
मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिंचाई, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नु पर्ने सुझाव दिनु भयो ।
प्रदेश योजना आयोगका सदस्य सिताराम बस्नेतले उखु बालि नगदे भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या हुने भएकोले समाधान गर्नु पर्ने बताउनु भयो ।
दि नेपाल डिस्ट्रिलरिज प्रालि काठमाण्डौका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्व सचिव डा योगेन्द्रक्मार कार्कीले स्वदेशी पूँजी विदेश जान नियन्त्रण गर्न,वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकरण गर्न ,प्रविधिको प्रयोग,ज्ञान,मल, सिंचाई लगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्यले रहेको जानकारी दिनु भयो ।
एक दिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक जगतबन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा दिलराज यादवले उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधि, उखु बालीको प्रमुख रोग र कीराहरु तथा तीनको व्यवस्थापन र पूर्व सचिव डा कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा कृषकहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा मोरङ,झापा र सुनसरीका ४० जना उखु किसानहरुको सहभागिता रहेको छ। ¬¬¬–––