

विराटनगर, ९ वैशाख ः ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोपका लागि अभिभावकमा सचेतना आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
देशव्यापी रुपमा हालै सम्पन्न एचपीभी खोप कार्यक्रमको प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँहरुले अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी हुन नसक्ने बताईएको छ ।
सहभागीहरुले एचपीभी खोप कार्यक्रम विद्यालय स्तरमा सञ्चालन गरिने भएको हुँदा अभिभावकले खोपमा सहभागिताका लागि अनुमति नदिँदा समस्या भएको जानकारी गराइएको छ।
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले खोपमा समन्वय आवस्यक रहेको बताउनुभयो ।
गत फागुन २२ देखि कोशी प्रदेशमा शुरु भएको एचपीभी खोप अभियानमा खोपको कभरेज ८७ प्रतिशत रहेको जानकारी उहाँले गराउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले एचपीभी खोप कार्यक्रम सफल रुपमा सम्पन्न भएपनि प्रभावकारी सञ्चालनका लागि स्थानीय स्तरमा सचेतना दिन आवस्यक देखिएको बताउनुभयो ।
निर्देशक वस्नेतले वैशाख महिनालाई खोप महिनाका रुपमा मनाईने घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ खोज र खोप लगाउ । अभियानको मुख्य नारा छ ।’
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले नेपालमा राष्ट्रिय खोप ऐन २०७२ अनुशार खोप कार्यक्रम व्यवस्थित गरिएको तर यस बारे स्थानीय स्तर सम्म सचेतना आवस्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘ १० वर्ष उमेर समूहका वा कक्षा ६ मा अध्ययनरत बालिकालाई खोप दिईने छ । यो खोप विद्यालय स्तरमा सञ्चालन हुने छ ।’
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले सङ्क्रमणकालिन पोलियो योजना २०७९–०८६ कार्यान्वयनमा रहेको कार्यक्रममा बताउनुभएको थियो ।
एचपीभी खोप अभियानका क्रममा मोरङ र सुनसरीमा बढी समस्या देखिएको छ भने प्रदेशका पहाडी र हिमाली जिल्लामा खोप कार्यत्रक्रम सञ्चालनमा कुनै समस्या नभएको कार्यक्रममा जानकारी गराइयो ।–––