विराटनगर ८ फागुन । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने एक अध्ययनबाट जानकारी आएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले यहाँ आयोजित प्रदेश स्तरिय खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी गोष्ठीमा उक्त जानकारी दिँदै खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेषगरि मिसावट, तेलजन्य समस्या , रङको प्रयोग र सुक्ष्मजीवको समस्या देखिएको बताउनुभयो ।
कार्यालयले विराटनगरका होटल रेस्टुरेन्टहरुको अनुगमनका क्रममा फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको पाएको छ।
होटलको फोहोर व्यवस्थापन, सरसफाई र कामदारहरुको व्यक्तिगत सरसफाई चुनौतिपूर्ण हुँदै गएको अनुगमनका क्रममा देखिएको छ। होटलहरु व्यस्त सडकको नजिक हुनेहुँदा धुलो, धुँवाको समस्या पाईएको अधिकृत सुवेदीको भनाई रहेको छ ।
अधिकृत सुवेदीले खाद्यन्न दलहन तर्फ ४७ वटा र प्रशोधित पिउनेपानी १२१ थान मुद्धाहरु जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएको जानकारी दिनुभयो ।
चालु आवको छ महिनामा १७ वटा न्युनस्तर ÷दुषित खाध्य पदार्थ उत्पादन गर्ने उद्योग विरुद्ध मोरङमा मुद्धा दायर गरिएको अधिकृत सुवेदीले बताउनुभयो ।
खाद्य– दाना उद्योग सिफारिस, अनुज्ञा पत्र जारी, नविकरण, बजार, उद्योग, संयुक्त तथा एकल अनुगमन, प्रयोगशाला सेवा, तालिमहरु दिदै आएको कार्यालयका प्रमुख विजय खनालले जानकारी दिनुभये ।
गोष्ठीमा प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहाल, १४ वटै जिल्लाका साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।–––