विराटनगर,१३ फागुन । मानव बेचविखनमा बिचौलियाहरुले नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या भएको पाइएको छ ।
बिचौलियाले भारतीय सीमानाकासम्म अभिभावक प्रयोग गरेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
माइती नेपालका विराटनगर संयोजक विनोद पोखरेलले मानव बेचविखन नियन्त्रणको काम गर्ने क्रममा ‘अवरोध,उद्धार र न्याय परियोजना’ अन्र्तगत सन् २०२३ को मार्च देखि फरवरी २०२४ सम्मको प्रतिवेदन सार्वजनिक गर्दै सिमामा एकै खाले काम गर्ने संघ सस्थाहरु धैरै हुदा काममा समस्या भएको बताउनु भयो ।
सामाजिक सञ्जाललाई माध्यम बनाई बिचौलियाहरु प्रत्यक्ष नहुने र बालिकाहरु एक्लै सीमा पार गर्ने गरेको विद्यमान अवस्थामा देखिएको उहाँले बताउनुभयो । भारतबाट तेस्रो राष्ट्र जान सहज भएका कारण नेपालका नाकाहरु बढी प्रयोग भएको संयोजक पोखरेलले जानकारी दिनुभयो ।
रोजगारको अवसर र आर्थिक प्रलोभनका कारण भारत तर्फ बढी आकर्षण भएको अनुगमनको क्रममा पाइएको माइती नेपालले जनाएको छ।
विगत एक वर्षको अवधिमा मोरङबाट ५४ जना उद्धार गरिएको आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसरी उद्धार गरिएकामध्ये विराटनगरबाट ११, सुन्दरहरैचाबाट आठ, बेलबारी, रंगेली र रतुवामाईबाट छ÷छ, सुनवर्षी र धनपालथानबाट तीन ÷तीन, उर्लाबारी, ग्रामथान, कानेपोखरी र कटहरीबाट दुई ÷दुई, लेटाङ र पथरीशनिश्चरे र बुढीगंगाबाट एक ÷एक जना रहेका छन् ।
विगत पछिल्लो १४ वर्षमा माईती नेपाल विराटनगरले रानी सिमाबाट एक हजार ३२८ जना महिला तथा बालबालिकाहरुलाई मानव वेचविखनको सम्भावित जोखिमबाट बचाएको तथ्याङक सार्वजवनिक गरेको छ । तथ्याङ्क अनुसार सवैभन्दा बढी सन २०२३ मा १५९ लाई बेचविखन हुनबाट बचाएको हो । जसमा १८ वर्ष भन्दा तलका ४८ जना थिए ।
सोही अवधिमा २७ जनालाई भारतबाट उद्धार गरिएको जनाईएको छ ।
सन् २०१० देखि सन् २०२३ सम्ममा ५९० जना महिला तथा बालबालिकाहरु बेपत्ता भएका छन् । जसमा ८७ जना फेला परेको माईती नेपालले जनाएको छ।
यसैगरी विगत एक वर्षको अवधिमा इलाका प्रशासन कार्यालय उर्लाबारीमा रहेको सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जाने तीन हजार ७७ महिला सहित सात हजार ३६० जनालाई परामर्श सेवा दिईएको माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जोगवनी सिमा नाकाबाट भारत तर्फ जाने तीन हजार ९३ महिलाहरुलाई परामर्श दिएको दिईएको छ ।–––