विराटनगर,२० फागुन ः नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती माविले जितेको छ ।
विराटनगर– ६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सरस्वतीले आर्दश वालिका माविलाई ७२ रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १४३ रन बनाएको थियो भने आर्दश वालिकाले १५ दशमलव २ बलमा सवै विकेट गुमाई ६९ रन मात्र बनाएको थियो ।
प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी , उत्कृष्ट ब्याटर आर्दश वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भएकी छिन् ।
विराटनगर उपमहानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीका सार वेग, एड ल्याम्प, टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले विजयी, उपविजयी तथा अन्य खेलाडीलाई पुरस्कार तथा ट्रफि वितरण गर्नु भयो ।
प्रतियोगितामा विराटनगरका सामुदायिक विद्यालयहरु आर्दश, आर्दश वालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्सका महिला खेलाडीहरुले भाग लिएका थिए ।–––