विराटनगर,२४ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशांक कोइरालाले धर्म स्वतन्त्र हुने पर्ने बताउनु भएको छ।
विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले भन्नु भयो ‘ धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ, धर्म स्वतन्त्र हुन्छ ’।
पूर्व महामन्त्री कोइराला नेकांको चार तारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक भएको समेत स्पष्ट पार्नु भयो ।
उहाँले हिन्दु राष्ट होइन स्वतन्त्र धर्मको पक्षमा आफु उभिएको स्पष्ट पार्दै हिन्दु राष्ट्र राख्न संविधान संशोधन गर्नु आवश्यक रहेको बताउनु भयो ।
नेता कोइरालाले नेकांको विगतको गठबन्धन टुट्नु सत्तावादीको खेल प्रमुख कारण रहेको विचार राख्दै गठबन्धन टुटेको समग्र रुपमा आफु ज्यादै खुशी रहेको विचार व्यक्त्त गर्नु भयो ।
उहाँले वीपी कोइरालाको छोराको हैसियतले भन्नु पर्दा नेकां कुनै पार्टीसंग मिल्नु हुदैन र विगतमा समेत गठबन्धन गर्नु गलत भएकोले आगामी दिनमा एक्लै निर्वाचन लड्नु पर्नेमा जोड दिनु भयो ।
एक प्रश्नको जवाफमा उहाँले नेकांले आगामी दिनमा पार्टीको वरिष्ठ नेताको परिभाषा निर्माण गर्नु पर्ने सुझाव दिनु भयो ।
नेता कोइरालाले नेकां आफ्नो विचारप्रति अडिग रहदै कुनै राजनीतिक दलसँग विना गठबन्धन निर्वाचन उम्मेदवार चयन गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले विगतको कुरा विर्सदै अगाडी जानका लागि आगामी नेकाको १५ औँ महाधिवेशनमा तीन कोइराला( डा शेखर कोइराला र सुजाता कोइराला)सँग मिलेर जाने बताउनु भयो ।–––