विराटनगर,२१ माघ ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले क्यान्सर रोगको उपचारको लागि वीमा गर्नुपर्ने बताउनु भएको छ।
विराट शिक्षण अस्पताल मोरङको वुढीगंगाको हाताभित्र निर्मित रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्सिच्यूटको आज उद्घाटन गर्दै क्यान्सर रोगको उपचार खर्चिलो भएकोले सरकार एक्लैले गर्न नसक्ने हुनाले तीन करोड नेपालीको रु पाँच हजारको क्यान्सर उपचार वीमाको व्यवस्था गर्न सुझाव दिनु भयो ।
नेता डा कोइरालाले क्यान्सर रोगबाट आफ्नो परिवारका १६ जनाको मृत्यु भएकोले् त्यसको पीडा भोगेकोले यो रोगको रोकथामका लागि जनचेतना वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले वीमा कम्पनीहरुले युवाहरु मात्र होइन ६० वर्ष उमेरका नागरिकहरुको समेत उपचार विमा गर्नुमा जोड दिनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यो रोगबाट वच्ने एक मात्र उपाय भनेको रोग विरुद्धको जनचेतना जागृत गराउनु भएको वताउनु भयो ।
वरिष्ठ हास्य नेपाली कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर जस्तो घातक रोगबाट वच्ने उपाय खोज्नु आवश्यक भएको छ भन्दै यो रोगको उपचारमा रकम खोलो बग्ने आफ्नो अनुभव सुनाउनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराट शिक्षण अस्पतालका प्रमुख डा ज्ञानेन्द्रमान सिंह कार्की , काठमाडौ विश्वविद्यालय चिकित्सा शास्त्रका डीन डा मनोज हुमागाई र क्यान्सर रोगी राजन भट्टराईले अस्पतालले दक्षजनक्ति उत्पादन गरि दुर्गम क्षेत्रमा सेवा दिनु पर्ने विचार राख्नु भयो ।