विराटनगरमा ,३ जेठ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्तरीय चलचित्र महोत्सव आगामी जेठ ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्ने भएको छ।
प्रदेशमा निर्माण भएका चलचित्रहरुमा प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी बृद्धि चलचित्र छायाङकन र यस क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्त्ता कमल थापाले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन जेठ ६ गते झापाको विर्तामोडमा हुने भएको छ । उद्घाटनका दिन सांस्कृतिक कार्यक्रम र चलचित्र प्रर्दशन गरिने उहाँले बताउनुभयो । जेठ ७ गते विराटनगरमा चलचित्र प्रदर्शन, कोशी प्रदेशमा चलचित्र निर्माणबारे अन्तरक्रिया, आरोहण गुरुकुल विराटनगरमा स्टल, जातिय खाना, जेठ ७ देखि ९ गते सम्म विर्तामोडमा चलचित्र प्रदर्शन, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम हुने तय भएको प्रवक्त्ता थापाले बताउनुभयो ।
महोत्सव इटहरी, विराटचोक, झुम्कामा चलचित्र प्रर्दशन गरिने छ ।
महोत्सवमा लघु, कथानक चलचित्र, बृत्त गरि ४४ वटा चलचित्र प्रर्दशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । चलचित्र महोत्सवका लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ ।
चलचित्र क्षेत्रको विकास र प्रोत्साहनलाई टेवा पु¥याउने किसिमले गतिविधि गर्न सके कोशी प्रदेशलाई चलचित्र पर्यटन क्षेत्रको प्रमुख गन्तव्य स्थलका रुपमा विकास गरेर नमूना प्रदेशका रुपमा स्थापित गर्न सकिने नेपाल चलचित्र समाजका केन्द्रीय महासचिव अरुणकुमार प्रधानले बताउनुभयो । विराटनगरमा आयोजित महोत्सवको समापनका अवसरमा विभिन्न चलचित्रका नायक, नायिका , निर्माता, निर्देशक एवं अन्य कलाकारहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ।–––