विराटनगर,८ जेठ । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई दुई सय रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो ।
जितसँगै वाइआरसीसीले रु एक लाख ५१ हजार र ट्रफि हात पारेको भने उपबिजेता बनेको होराइजनले रु ७५ हजार प्राप्त गरेको छ ।
वाइआरसीसीले निर्धारित २० ओभरमा नौ विकेट गुमाइ २४६ रन बनाएको थियो । वाइआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै ३४ बलमा ११२ रन बनाएका थिए ।
वाइआरसीसीले दिएको २४७ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले सात दशमलव एक ओभरमा सबै विकेट गुमाइ ४६ रन मात्रै बनाउन सफल भएको थियो ।
उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रमक बलिङ गर्दै तीन दशमलव एक ओभरमा १६ रन खर्चेर सात विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवण किस्कु , बेस्ट ब्याटर वाइआरसिसिका देव खनाल र म्यान अफ द सिरिज वाइआरसिसिको अभिषेक पाठक र प्लेर अफ द म्याच वाइआरसिसिका हेमन्त धामी भएका छन्् ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राई,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी राज्यमन्त्री सिर्जना राई प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव पर्शुराम वस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले विजेता तथा उपविजेतालाई ट्रफी तथा प्रमाणपत्र बितरण गर्नु भयो ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा यही वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो । –––