विराटनगर, २७ जेठ ः विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ ।
महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आज आयोजित एक कार्यक्रम बीच ७६ घरपरिवारका दुई सय ३५ पशुवस्तुका लागि पशु पालक किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।
पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रुपमा औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।
सो क्षेत्रमा किसानले गाई, भैंसी र बाख्रा व्यावसायिक रुपमै पाल्दै आएका छन् जसबाट राम्रो आम्दानी गरिरहेका छन् ।
आन्तरिक परजीविका कारण उत्पादनमा किसानले ठूलो नोक्सानी खेप्दै आएकाले औषधि वितरणबाट परजीवि नियन्त्रणले उत्पादनमा वृद्धि हुने शाखा प्रमुख यादवको बताउनु भयो ।
शाखाकी डा. सरहाना सुवेदीले चेकजाँच गर्दै महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवि नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको जानकारी दिनु भयो ।
महानगरले यस वर्ष एक सय २१ जना किसानलाई हिउँदे र वर्षे घाँसको बिऊसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताउनु भयो ।
यस्तै एक सय महिला बाख्रा कृषक समूहलाई पनि आन्तरिक र बाह्य परजीवि नियन्त्रणको औषधि वितरण गरिएको छ ।–––