विराटनगर,२८ जेठ ः कोशी प्रदेश सरकारले एक जना महिला सहित चार जनालाई कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त्त गरेको छ ।
आज साँझ मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई , सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १२ का भवानीप्रसाद बराल र मोरङ केराबारी गाउँमालिका वडा नं २ की नमिता न्यौपानेलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त्त भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले जानकारी दिनु भयो ।
यसरी अर्को निर्णयमा प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी कोशी प्रदेश सभाका सदस्यहरु राजन किराँती र सम्झना तामाङको क्यानडाको बैदेशिक भ्रमणलाई स्वीकृत गर्ने र कुटनीतिक राहदानीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने भएको छ ।
यस्तै राजनीतिक आर्थिक र सामाजिक पहिचानका सम्बन्धमा देखा परेका समस्याहरुलाई समाधान गर्नका लागि वार्ताद्वारा शान्तिपूर्ण ढङ्गले समाधान गर्नका लागि समिति गठन गर्ने निर्णय गरिएको छ ।
राजनीतिक तथा शान्ति वार्ता समितिको नाम रहेको समितिको संयोजकत्वमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर,सदस्यहरुमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानूनमन्त्री लिल्लाबल्लभ अधिकारी र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले बताउनु भयो ।–––