विराटनगर,१५ साउन । वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि आज यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा वाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटवाट बाढीबाट डुवेका नागरिकको उद्धारको कृत्रिम अभ्यास गर्ने कार्य सम्पत्र गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र रेडक्रसका कार्यकर्ताहरुले पूर्व अभ्यासको क्रममा उद्धार गरिएको नागरिकको प्राथमिक उपचार, एम्वेलन्समा राख्ने र उपचारका लागि अस्पताल एवं स्वास्थ्य चौकी पठाउने जस्ता कार्य गरेका थिए ।
कृत्रिम अभ्यासकाको क्रममा अस्थायी आवास र गैर खाद्य सामाग्री व्यवस्थापन लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मोरङ क्षेत्रमा मनसुनको समयमा डुवान मुख्य समस्या रहेकोले सोबाट नागरिकको जीउधनको सुरक्षाका लागि जनशक्ति उपलव्ध रहेको बताउनु भयो ।
जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले गाउँपालिकामा बर्षातको समयमा लोहन्द्र, सिंहिया खोलाले नागरिकको घर डुवान हुनाले यसको समाधान गर्नु आवश्यक रहेको विचार राख्नु भयो ।
रेडक्रस मोरङका अध्यक्ष सुवोधकुमार सिंहले आगामी दिन जिल्लामा आगलागीबाट जनताको उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास गरिने जानकारी दिनु भयो ।
यस अघि रेडक्रस मोरङले सशस्त्र प्रहरी र जहदा गाउँपालिकालाई बाढी पीडितको उद्धारका लागि रु ३० लाख मूल्य बरावरको दुई थान रवर बोट लगायत सामाग्री सहयोग गरेको थियो । –––