कोशी प्रदेशमा ५८२ जनामा डेंगी सङक्रमण

Logo
Nav Nepal शुक्रबार, साउन ३२, २०८१

 

विराटनगर, ३० साउन ः कोशी प्रदेशमा विगत चार महिनाको अवधिमा ५८२ जनामा डेंगी सङ्क्रमण भएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारबाला लगायतको सहभकागितामा डेंगी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विस २०८१ वैशाख देखि हालसम्म ५८२ जनामा सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा साउन महिनामा मात्रै ३३४ जनामा डेंगी संङ्क्रमण देखिएका छन् ।
प्रदेशमा मोरङ जिल्लामा सङ्क्रमण उच्च रहेकाले सचेतनामुलक कार्यक्रम गर्न प्रदेश सरकारले आग्रह गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सरकार जनताको स्वास्थ्यप्रति प्रति गम्भिर रहेको बताउनु भयो । उहाँले डेंगी सङ्क्रमण नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नु भयो, ‘डेंगी सङ्क्रमण नियन्त्रणका लागि हातेमालो गर्न सरकार तयार रहेको छ’ । मोरङको लेटाङ नगरपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या हालसम्म ३१० रहेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो ।
उहाँले सात सय बढीको परीक्षण गर्दा बैशाख देखि हालसम्म ३१० जनामा सङ्क्रमण देखिएको र पालिकाले खोज र नष्ट अभियान सञ्चालन गरिरहेको बताउनु भयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले डेंगी सङ्क्रमण नियन्त्रणका लागि समन्वय गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले डेंगी सङ्क्रमण नियन्त्रणका लागि अभियानहरु सञ्चालन गरिरहेको जानकारी दिएका थिए । स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले जनता लक्षित कार्यक्रममा तीनै तहको सरकारवीच समन्वय आवश्यक रहेकोमा जोडदिनु भयो ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले डेंगीको कुनै औषधि नभएको बताउँदै दुखाई तथा लक्षणहरुको व्यवस्थापन गर्ने गरिन्छ र यसका लागि खासगरि पारासिटामोल औषधि दिईने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ आईब्रुफीन, फ्लेक्सन र एस्पिरिन जस्ता औषधिहरु प्रयोग गर्नु हुँदैन ।’
विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलिप यादवले महानगरले वडास्तरमा खोज र नष्ट गर अभियान तथा अभिमुखीकरण सञ्चालन गरिएको जानकारी दिनु भयो ।
प्रदेशमा साउन १ देखि २९ गते सम्ममा मात्रै ३३४ जनामा डेंगी सङक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उक्त अवधिमा मोरङमा १९९, झापामा ३३, धनकुटामा ३२, संखुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुई जनामा सङ्क्रमण भएको बस्नेतले बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077