विराटनगर,११ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको ९३ औँ संस्करणको राधाकृष्ण रथयात्राको आज शुभारम्भ गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको छ।
यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईले भगवान राधाकृष्णको पूजाअर्चना गर्नु भयो ।
रथयात्रा नगरको नौ किलोमिटर परिक्रमा पछि पुनः मन्दिरमा विसर्जन गरिने छ। यात्राको क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि क्यामरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।
पगौडा शैलीमा बनाइएको उक्त रथको लम्वाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट रहने छ भने रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठृा(डोरी)लाई पुरुष र महिला भक्तजनहरुले रथलाई तानी सञ्चालन गरेका छन् ।
रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति,सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरु रहेको रथयात्रा समारोहका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनु भयो ।
रथयात्रा नगर क्षेत्रका ४३ स्थानमा भक्तजनहरुलाई पूजाअर्चना एवं दर्शन लागि रोकिएको छ।
उक्त रथयात्राको पूजाअर्जना गर्न, हेर्न तथा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात लाख भक्तजनहरुको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ।
विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिएको अध्यक्ष रेग्मीले जानकारी दिनु भयो । नगर क्षेत्रमा विभिन्न स्थानमा दाताहरुले चिसो पानी, सर्वतको व्यवस्था गरेका छन् । यसैगरी सडकको दुवै किरानमा राखिएको विभिन्न मिठाईका पसलमा खरीद गर्ने उपभोक्ताहरुको भीड लागेका छन् ।
विराटनगरमा निकालिएको यो यात्रा भारतको उडिसा पुरीमा निकालिने भगवान जगत्र्राथ पछि दोस्रो ठुलो रहेको आयोजकले जनाएका छन् ।