विराटनगर,१४ भदौ ः कोशी अस्पताल विराटनगरमा आँखा उपचार सेवा सञ्चालनका लागि जापान सरकारले रु एक करोड ७० लाख बराबरको विभिन्न उपकरणहरु सहयोग उपलब्ध गराएको छ ।
अस्पतालले नयाँ उपकरणहरु उपलब्ध भएपछि वर्षौ देखि आँखा उपचार सेवा रोकिएकोमा विगत तीन महिना देखि आँखा उपचार सेवा संचालनमा ल्याएको छ ।
यसका लागि छ जना चिकित्सक र एक जना नेत्र सहायक सहित स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको कोशी अस्पतालले जनाएको छ ।
जापान सरकारले उपलब्ध गराएको उपकरणहरु सहितको शल्यक्रिया थिएटर औपचारिक रुपमा नेपाल स्थित जापानिज दुतावासका डेपुटि चिफ अफ मिसन तामुरा ताकाहिरोले आज उद्घाटन गर्नुभयो ।
जापान सरकारले उपलब्ध गराएको मेशिनहरु अत्याधुनिक भएको र मोतियाविन्दु, जलविन्दु जस्ता आँखाका रोगहरु सजिलै र सुलभ दरमा उपचार गर्न सकिने आँखा विभागकी प्रमुख डा. आस्मा केसीले जानकारी दिनुभयो ।
विराटनगरमा निजी क्षेत्रका आँखा अस्पतालहरु पर्याप्त भएपनि सरकारी अस्पतालमा भने आँखा उपचार सेवा उपलब्ध हुन सकेको थिएन ।
आँखा उपचारका आधुनिक मेशिनहरु उपलब्ध भएपछि गत साउन महिनामा कोशी अस्पतालमा ५ सय २४ जनाको आँखा उपचार गरिएको छ ।––