विराटनगर, १९ भदौ ः कोशी प्रदेश सभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्ल अधिकारीले सदनमा पेश गर्नु भएको थियो ।
सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
विधेयक पारित हुनु अगावै सो विधेयकलाई संशोधन गर्न दर्ता गर्नु भएको प्रस्ताव कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी, इन्द्रमणि पराजुली, कमलप्रसाद जवेगु र गोम्बू शेर्पाले फिर्ता लिनु भएको थियो ।
उहाँहरुको प्रस्तावलाई आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले ऐनलाई समृद्ध बनाउन संशोधन कर्ताहरुले दिनु भएको सुझावलाई स्वीकार गर्नुभएको थियो । उहाँले ऐन बनाउने कार्य निकै जटिल र चुनौतीपूर्ण भएकाले यसमा बुँदागत आएको सुझावलाई सरकारले ग्रहण गरेको छ भन्दै सरकारले स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउने जानकारी दिनुभयो ।
उहाँले रचनात्मक सुझावलाई परिमार्जन एवं परिस्कृत गर्दै आएको ऐनले निजामती कर्मचारीमा उत्साह बढ्ने विश्वास व्यक्त्त गर्नुभयो ।
विशेष समय
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दलको तर्फबाट विद्या चाम्लिङ्गले विशेष समयमा सरकारले अहिलेसम्म पूर्णता नपाएकाले जनताका काममा समस्या भइरहेको बताउनुभयो ।
उहाँले सरकारका सञ्चालित योजनाहरुको गुणस्तर कायम गर्न अनुगमन र निरीक्षण गर्ने प्रक्रियालाई कसिलो बनाउनु पर्ने सुझाव दिँदै उहाँले भत्रुभयो, ‘ लामोसमयदेखि सरकारले पूर्णता नपाएकाले अस्तव्यस्त भएको छ ।’
कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले हालै सोलुखुम्बू जिल्लामा हिमताल फुटदा थामे गाउँको आधारभूत विद्यालय क्षतविक्षप्त भएको छ भन्दै ताल फुटेर आएको बाढी र पहिरोले जनताका आधारभूत आवश्यकताका संरचनाहरु पनि नष्ट भएको बताउनुभयो ।
उहाँले ताल फुटेर आएको बाढीले सडक, पुल र मानवबस्तीमा ठूलो क्षति भएको छ भन्दै प्रारम्भमा सङ्घीय सरकार र प्रदेश सरकारबाट भएको राहत वितरण कार्यप्रति धन्यवाद दिनुभयो ।
शून्य समय
मुलुकको समसामयिक विषयमा कोशी प्रदेश सभा सदस्य रामप्रसाद महतो, होमबहादुर थापा, शोभा चेम्जोङ्ग र प्रदीप सुनुवारले पनि बोल्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक भदौ २५ गते अपरान्ह २ बजे बस्नेछ ।––––