विराटनगर,९ असोज ः सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन स्वास्थ्यकर्मीले अनुरोध गर्नु भएको छ।
स्वास्थ्य लाइभ मिडियाद्वारा आज विराटनगरमा आयोजित ‘सुरक्षित गर्भपतनको लागि जवाफदेहीता ’ विषायक मिडिया सचेतना कार्यक्रमा उहाँहरुले उक्त सुझाव दिनु भएको हो ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले प्रदेश सरकारले नागरिकहरुलाई सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने मुख्य जिम्मेवारीका साथ कार्य गरिरहेको बताउनु भयो ।
उहाँले सरकारले उपलव्ध गराई स्वास्थ्य सेवा लक्षित वर्गसम्म पु¥याउन सञ्चारकर्मीले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले सुरक्षित गर्भपतनका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै असुरक्षित गर्भपतन रोक्न स्वास्थ्य निर्देशनालयले विशेष जोड दिएको विचार राख्नु भयो ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले सुरक्षित गर्भपतन गराउनु कुनै अपराध नभएको धारणा राख्नु भयो ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले सुरक्षित गर्भपतनका लागि सञ्चार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने सुझाव दिनु भयो ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवले औषधिहरु जथाभावी विक्रीवितरण हुँदा पनि सुरक्षित गर्भपतनमा चुनौती थपिएकोले यसको रोकथामका लागि मिडियाको सहयोग आवश्यक रहेको बताउनु भयो ।
स्वास्थ्य मिडिया लाइभका अध्यक्ष अर्जुन अधिकारीले सुरक्षित गर्भपतनका विषयमा ग्रामीण क्षेत्रमा आम नागरिकलाई सचेत वनाउनु पर्ने विचार राख्नु भयो ।