जीवन विकासद्वारा दश जनालाई किस्तामा सिटीसफारी हस्तान्तरण

Logo
Nav Nepal बुधबार, आश्विन १६, २०८१

विराटनगर । विराटनगर महानगरपालिका– ७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए । दैनिक ६ सय रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो,’ सिटी सफारी पाएपछि कामतले भने,‘दुई वर्ष किस्ता तिरेपछि त आफ्नै भइहाल्छ ।’
विराटनगरका गोपाल बर्देवाले पाँच वर्ष सिटी सफारी भाडामा कुदाए, जीवन विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा नयाँ सफारी पाएपछि उनको आफ्नै सफारी कुदाउने धोको पुरा भएको छ । जीवन विकासले सहज किस्तामा सिटी रिक्सा उपलब्ध गराएपछि सजिलो भएको उनले बताए । विराटनगर– १२ का बाबु मण्डल मजदुरी गर्थे । आफ्नै काम गर्ने उनको चाहना आज पुरा भएको छ ।
आनन्दी, गोपाल र बाबुसहित जीवन विकासले बुधबार ९ जनालाई यात्रु बोक्ने र एक जनालाई मालसामान बोक्ने सफारी उपलब्ध गराएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सफारी हस्तान्तरण गर्दै सफारी प्राप्त गर्ने परिवारको आर्थिक अवस्था विस्तारै सुधार हुने उनले बताए । ‘तपाईँहरूको आर्थिक अवस्था सुधार हुन्छ, आम्दानी बढ्यो भने बालबालिकाको पढाई र घरको अवस्था सबै सुधार हुन्छ,’ उनले भने,‘ हिजोसम्म अरुको चलाउनुहुन्थ्यो, आजबाट आफ्नो काम गर्नुहुन्छ, आफ्नो सफारीको मालिक आजदेखि बन्नुभयो ।’
जीवन विकासले गरिबी, बेरोजगारी र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले सिटी सफारी प्रयोगले यी तीनवटै समस्याको समाधानमा सहयोग पुग्ने बताए ।
बजार क्षेत्रमा सिटी सफारी भाडामा कुदाउँदा चालकले दैनिक ६–७ सय रुपैयाँ तिर्ने गरेका छन् । जीवन विकासबाट लिएको सफारीको दुई वर्षसम्म दैनिक ४५३ रुपैयाँ किस्ता तिरे सफारी चालककै हुने जीवन विकासको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले बताए ।
उनका अनुसार सदस्यले दैनिक ७ सय रुपैयाँ जम्मा गर्नेछन् । सो रकमबाट ४५३ रुपैयाँ किस्तामा जम्मा हुनेछ । बाँकी रकम उहाँहरुकै बचतमा जम्मा हुनेछ । सिटी सफारी हस्तान्तरणका लागि गणपति पीजी सप्लायर्सले सहजीकरण गरेको थियो ।
२४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय बढी परिवारलाई सिटी सफारी उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077