विराटनगर,१९ असोज ः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज शेरधन राईले एमालेले मुलुकलाई राजनीतिक निकास दिने बताउनु भएको छ।
नेकपा एमाले महानगरद्वारा आज यहाँ आयोजित वडा दशै, तिहार, नेपाल सम्बत, छठ लगायत पर्वको उपलक्ष्यमा शुभकामना एवं चियापान कार्यक्रममा उहाँले पार्टी बलियो भएमा मात्र मुलुकमा विकासले गति लिनुका साथै जनताको जीवनस्तर वृद्धि हुने विचार राख्नु भयो ।
पूर्व मुख्यमन्त्री राईले सम्पूर्ण कार्यकर्ताहरु पार्टीको नीति कार्यान्वयन र नेतृत्वको रक्षामा लाग्नु पर्ने सुझाव दिनु भयो ।
एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले महानगर कमिटीले राजनीतिक मात्र नभएर सामाजमा रहेका विकृति, छुवाछुत, अशिक्षा, बाल विवाह जस्ता कुरिति अन्त्यका लागि सामाजिक मुद्दाको उठान गर्नुपर्ने सुझाव दिनु भयो ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महानगरमा संगठनलाई बलियो बनाउन सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो ।
एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले महानगर कमिटीले सक्रियता साथ राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सुझाव दिन भयो ।
मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्की र महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले महानगरमा पार्टीलाई वलियो बनाउन संगठन विस्तारमा लाग्ने बताउनु भयो ।