विराटनगर, २० कात्तिक ः विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले आ–आफ्ना खेलमा विजय भएका छन् ।
प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको २० दशमलव ५ बलमा सबै विकेट गु्माई ७५ रनमा सीमित भएको थियो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र दिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।
छिहत्तर रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो । वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले ३÷३ विकेट लिए ।
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ । यस खेल भन्दा अगाडि प्रतियोगितामा लुम्बिनी एक मात्र अपराजित टोली रहेको थियो ।
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रन बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका ्प्लेयर अफ द म्याच अविशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।
एकहत्तर रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।
लिगको सबै खेल सम्पत्र हुँदा सुदूरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।
त्यस्तै गण्डकी ६ खेलमा मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो, मधेशले पनि ६ खेलमा ३ मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकाका साथ पाँचौ स्थानमा, कर्णाली ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैठौँ स्थानमा र कोशी ६ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ ।–––