विराटनगर, २५ कात्तिक ः विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । तालिममा विराटनगर महानगरपालिकाका १२ जना सहित कोशी प्रदेशका १२ वटा पालिकाका ८० जना सहायकस्तर चौथो र पाँचौँ तहका कर्मचारीहरुको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिनुभयो ।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले छिटोछरितो रुपमा जनताको काम गर्न कर्मचारीहरुलाई आग्रहसमेत गर्नुभयो । कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्याङ्कन हुने उहाँको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीति नियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीहरुको भएको प्रमुख कोइरालाको भनाई थियो ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले एक महिने तालिमले कार्यालय सञ्चालन र व्यवस्थापनबारे धेरै नै जानकारी हुने बताउनुभयो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गर्नुहुनेछ ।–––