विराटनगर,४ मङ्सीर ः मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगङ्गा मोरङले यही शैक्षिक सत्रदेखि बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ ।
विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई समेटेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले जानकारी दिनुभयो । बीबीए एलएलबीमा नेपालमै पहिलो पटक विश्वविद्यालयले पढाई शुरु गर्न लागेको हो ।
आगामी पुस देखि बीबीए एलएलबीको कक्षा शुरु हुने पाँच वर्षे कोर्षमा विद्यार्थीले ४० प्रतिशत व्यवस्थापन, ५० प्रतिशत कानुन र १० प्रतिशत अन्य विषयमा अध्ययन गर्ने गरि पाठ्यक्रम तयार गरिएको उपकुलपति पोखरेलले बताउनुभयो । प्रविधिमैत्री, व्यवहारिक र समय सान्र्दभिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिई मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साईन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन ईस्टिच्युट अफ ल’ स्थापना छ गरेर नयाँ नमूना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह (बीबीए एलएलबी) को पढाई सुरु गर्न लागेको उपकुलपति पोखरेलले बताउनुभयो ।
पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने छ । पाँच वर्ष कोर्षका लागि विद्यार्थीले रु चार लाख ५० हजार शुल्क लाग्ने र छात्रवृत्तिको व्यवस्था समेत रहेको छ । यसैगरी विश्वविद्यालयले आगामी माघ महिनादेखीे फौजदारी अपराध कानुनमा एलएलएम इन क्रिमिनल ल को पढाई पनि सुरु गर्ने लक्ष्य रहेको मनमोहन ईस्टिच्युट अफ लका प्रमुख कोषराज नेउपानेले जानकारी दिनुभयो ।
विश्वविद्यालयमा तीन बटा स्कुलहरू स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तथा स्कूल अफ एप्लाइड साईन्स, टेक्नोलोजी एण्ड ल सञ्चालन भइरहेको उपकुलपति पोखरेलले बताउनुभयो ।–––