विराटनगर,५ मङ्सिर ः आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी कायम भएका छन् ।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज विहान १ वजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेपनि कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको जनाएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
मुख्यनिर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनु भयो । ग्रामथानको प्रमुख पदमा विभिन्न राजनीतिकहरुबाट १५ र स्वतन्त्र १ जना गरी १६ जनाले उम्मेदवारी दिएका छन् ।
दलगत रूपमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई र नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरीले उम्मेदवारी दिनु भएका छन् ।
यसैगरी जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएका छन् । नमनारायण चौधरीको स्वतन्त्र उम्मेदवारी परेको छ ।
विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित हुनु भएको थियो । उहाँको गत असार ३ गते निधन भएको थियो ।