विराटनगर, ६ मङ्सिर ः लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै गएका कारण समस्या समाधानका लागि तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न सरोकारवालाहरुको जोड रहेको छ ।
रिकभरी नेपाल कोशी प्रदेश विराटनगरले आज यहाँ आयोजित पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश र स्थानीय सरकारले पनि लागुऔषधलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राख्न माग गरिएको छ ।
नेपालमा सन् २००७ मा ४६ हजार ३०९ जना लागुऔषध प्रयोगकर्ता थिए । त्यसमा महिलाको सङ्ख्या तीन हजार ३५५ थियो ।
यस्तै सन् २०१३ मा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ पुग्यो । पछिल्लो सन् २०२० मा गरिएको सर्भेक्षणमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार ४२४ छ । जसमा महिलाको संख्या आठ हजार ७३२ छ । तथ्याङ्क अनुशार २५ देखि २९ उमेर समूहमा यो समस्या रहेको पाईएको छ ।
बर्षेनी लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसका लागि राज्यको ध्यान आवश्यक रहेको रिकभरी नेपाल प्रदेशका उपाध्यक्ष संजीव चापागाँइले बताउनुभयो ।
उहाँले राज्य विकेन्द्रीकरणमा गएपनि प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा लागुऔषध प्रयोगकर्ताको तथ्याङ्क संकलन, नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालनमा ध्यान पुग्न नसकेको बताउनुभयो ।
रिकभरी नेपाल कोशी प्रदेशले लागुऔषध प्रयोगकर्ताकोहरुको सेवामा व्यवस्थापन तथा आवश्यक तालिम, लागुऔषधको समस्यालाई स्थानीय र प्रदेश सरकारले पनि प्राथमिकतामा पार्नुपर्ने, सडक बालबालिकाको लागुऔषधको समस्या सवै निकायले व्यवस्थापन गर्नुपर्ने, पुर्नस्थापना तथा उपचार कार्यक्रम प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय वा सामाजिक विकास मन्त्रालयबाट हुनुपर्ने माग गरेको छ । –––