विराटनगर,१२ मङ्सिर ःमोरङको ग्रामथानमा गाउँपालिकामा आगामी मंसिर १६ गते हुने स्थानीय तह अध्यक्ष पदको उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज ग्रामथानमाको तेतरियामा आयोजित आचारसंहिता विषयक सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नुभयो ।
उहाँले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि आचारसंहिता पालना गरिदिन सबै दलका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ग्रामथानमा हालसम्म अवस्था शान्तिपूर्ण रहेको र निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिनु भयो ।
मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले निर्वाचन स्वच्छ,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रवन्ध मिलाईसकिएको जानकारी दिनु बताउनुभयो ।
निर्वाचनमा सहभागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रमुख तथा प्रतिनिधिहरुले भड्किला प्रचार सामग्री हटाउने प्रतिबद्धता जनाएका थिए ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले निर्वाचनका लागि आवश्यक सामग्रीहरु विहीबारदेखि मतदान केन्द्रहरुमा पठाईने बताउनुभयो ।
ग्रामथानका १२ मतदान स्थलका २९ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण सकिएकाले भोलीदेखि मतपत्र, मतपेटिक लगायतका सामाग्रीहरु मतदान केन्द्रमा पुग्ने बताउनुभयो ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मङ्सिर १६ गते विहान ७ देखि साँझ ५ वजे सम्म मतदान हुँदैछ । निर्वाचनमा राजनीतिक दलका १५ र एक स्वतन्त्र गरि १६ जना प्रतिष्पर्धामा छन् ।
उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ जना मतदाता रहेका छन् ।