विराटनगर,१५ मंसिर ः प्रतिनिधि सभाकी पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङफेद्धारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताउनु भएका छन् ।
विराट साहित्य संगमद्वारा आज यहाँ आयोजित पुस्तक चर्चा कार्यक्रममा वि.स. २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको समीक्षा कार्यक्रममा सहभागीहरुले २०४६ पछिका महिला आन्दोलनका विषयलाई समेटेर चाँडै अर्को संस्करण ल्याउन सुझाव दिएका छन् ।
वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोश्रो संस्करणको समीक्षकहरुले पुस्तक अनुसन्धानमा आधारित रहेको बताएका हुन् ।
डा. तुम्बाहाङफेद्धारा लिखित पुस्तक नेपालमा महिला आन्दोलन दोश्रो संस्करण विराट साहित्य संगम विराटनगरले प्रकाशन गरेको हो
एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले महिला आन्दोलनको इतिहास खोज्नका लागि पुस्तक महत्वपूर्ण श्रोतका रूपमा रहेको उल्लेख गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेले नेपालमा महिला आन्दोलन पुस्तक महिलाको लागि प्रेरणाको श्रोत बन्ने उहाँले बताउनुभयो ।
डा. शिवमाया तुम्बाहाङफेले छुटेका विषयहरु आगामी संस्करणमा थपिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले नेपालको महिला आन्दोलनको प्रारम्भ २००४ देखि ०४६ सम्मको राजनीतिक आन्दोलनलाई पुस्तकले समेटेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरु प्रा.डा. हरिहर भण्डारी,कवि शिवनारायण पण्डित, शुभलक्ष्मी लम्साल, खेम नेपाली,बलराम पोखरेल, रामबाबु दाहाल,दिनेश श्रेष्ठ, इन्दिरा प्रसाईले नेपाल, राजनीति र महिलाका बारेमा पुस्तक जानकारी मुलक रहेको बताउनुभयो । –––