

विराटनगर, ९ वैशाख ःमनमोहन मेमेरियल कप फाउण्डेशन इनरुवा सुनसरीले विराटनगरमा तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२ ’ आयोजना गर्ने भएको छ।
फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १३ देखि १७ गतेसम्म विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ५० ओभरको लिगकम नकआउटको आधारमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको छ।
प्रतियोगितामा नेपाल पुलिस क्लव,सशस्त्र प्रहरी बल क्लव, वागमती प्रदेश, नेपाल आर्मी क्लव, कोशी प्रदेश र भारतको आसाम क्रिकट क्लवको सहभागिता हुने फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु चार लाख, दोस्रोलाई रु दुई लाख,प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कष्ट व्याट्सम्यानलाई रु १५ हजार, उत्कृष्ट वलरलाई रु १५ हजार र प्लेयर अफ म्याचलाई रु चार हजार नगद पुरस्कारको व्यवस्था रहेको छ।
यस क्षेत्रमा क्रिकेट खेलको गुमेको साखलाई पुनः फर्काउन प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष घोषले बताउनुभयो ।
प्रतियोगितामा नेपालका क श्रेणीका क्रिकेट खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ।
आयोजकले यस अघि सुनसरीको इनरुवामा विस २०७५ मा पहिलो र २०७६ मा दोस्रो चरणको एमएम राष्ट्रिय प्रतियागितामा सम्पन्न गरिसकेको छ।–––