विराटनगर , २२ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सञ्चालित राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताले यस क्षेत्रको क्रिकेटको विकासमा कोशेढुङ्गा सावित हुने बताउनु भएको छ। विराटनगर–१९ स्थित बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि सञ्चालित टि –२० राष्टिय क्रिकेट प्रतियोगिताको उद्घाटनका अवसरमा उहाँले प्रतियोगिताबाट प्रदेशका ग्रामीण, शहरी र दुर्गम क्षेत्रका युवायुवतीहरुलाई क्रिकेटप्रति आकर्षण गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
क्रिकेट प्रतियोगिताबाट यहाँ लुकेर रहेका प्रतिभाहरु प्रश्फुटन भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यहाँ हुनु गौरवको कुरा भएको चर्चा गर्दै यसलाई शौन्दर्यकरण गर्नमा आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
उहाँले खेललाई रोजगारसँग जोड्नु आवश्यक रहेको बताउँदै यस कार्यमा सरकार खेलाडीहरुसँग हातेमालो गरि आगाडि वढ्ने बताउनु भयो ।
नेपाल क्रिकट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले दक्ष खेलाडी उत्पादन सहयोग पुग्ने बताउनु भयो ।
उहाँले क्रिकेटको माध्यमबाट मुलुकको विश्वमा फैलाएको चचा गर्दै यो खेलको विकासका लागि क्यान आवश्यक सामाग्री, प्रशिक्षण र प्रशिक्षक उपलव्ध गराउन सदैव तयार रहेको धारणा राख्नु भयो ।
आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टीमको सहभागिता रहेको छ। प्रतियोगितामा बिजेता हुने टीमलाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितामा अन्तर्गत आजको पहिलो खेल कोशी र कर्णाली प्रदेशबीच भैरहेको छ भने दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेश वीच हुने छ । प्रतियोगिता लिगको आधारमा हुनेछ ।–––