विराटनगर, २३ फागुन ः कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज विराटनगरमा भएको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन् ।
मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगर–१९ बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाई १६८ रन बनाएको थियो ।
लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा चार छक्का र एक चौका प्रहार गरि ४८ रन बनाएका थिए भने कप्तान देव खनालले २३ बलमा दुई छक्का र छ चौका प्रहार गरि ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए ।
सुदुरपश्चिमका नरेन साउदले दुई विकेट तथा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले एक÷एक विकेट लिएका थिए ।
प्रतिउत्तरमा १६९ रनको लक्ष्य पाएको सुदुरपश्चिमले १७ दशमलव एक बलमा सवै विकेट गुमाई १११ रन बनाएको थियो ।
सुदुरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रन बनाएका थिए ।
लुम्बिनीका निर्मल गुरुङले तीन विकेट लिँदा वीर मगर र राहुल चौहानले दुई÷दुई विकेट लिएका थिए ।
यस्तै दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई तीन विकेट पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९० रन बनाएको थियो ।
मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन,अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रन बनाउन सफल भएका थिए ।
कर्णालीका म्यान अफ द म्याच दिवान पुनले तीन विकेट लिएका थिए भने दिनेश अधिकारी र अनुज चहराले दुई÷दुई विकेट लिए ।
जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव चार बलमा सात विकेट गुमाई विजयी भएको छ।
कर्णालीका लागि हिमान्सु शाहीले २६ बलमा तीन छक्का र तीन चौका प्रहार गरि ३४ रन बनाउँदा अर्जुन घर्तीले १४ रन र रविन्द्र शाहीले १२ रन बनाएका थिए ।
मधेशका रन्जित कुमारले तीन विकेट लिँदा हरिशंकर साहले दुई विकेट लिएका थिए ।
विहिबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल कोशी र मधेश प्रदेशविच हुने संघले जानकारी दिएको छ।–––