विराटनगर १९ चैत । विराटनगर–८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुलले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको प्रति विराटनगर १० मा रहेको नेशनल एकाडेमीले आपत्ती जनाएको छ । नयाँ शैक्षिक सत्र २०८१ देखि साविकको बालवाटिका स्कुल नेशनल एकाडेमीको स्वामित्वमा सरेपनि विद्यालयले आफुखुशी सम्झौता विपरितको कार्य गरेको नेशनल एकाडेमीको भनाई छ । नेशनल एकाडेमीले आज पत्रकार सम्मेलन गरी सम्पूर्ण अभिभावकहरुलाई साविकको बालवाटिका स्कुल नेशनल एकाडेमीबाट सञ्चालन हुने बताएको छ ।
नेशनल एकाडेमीले बालबाटिका बोर्डिङ स्कुल २७ लाख ५० हजार रुपैयाँमा खरिद गरेको संचालक तथा नेशनल एकाडेमीका प्रिन्सिपल सकलदेव साहले जानकारी दिनुभयो । राजनकुमार छाराहाङ्ग र इन्दु थापा छाराहाङ्गले संचालन गरेको स्कुल भदौ ३१ गते नेशनल एकाडेमीले खरिद गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
नेशनल एकाडेमीका प्रिन्सीपल साहले भन्नुभयो,‘ पूर्व सञ्चालकहरुले शुरु गरेको विद्यार्थी भर्ना अभियानको भ्रममा नपर्न अभिभावकहरुमा आग्रह छ ।’ स्कुल खरिद गरेपछि बालवाटिका स्कुलको स्वामित्व सकलदेव साह र श्रीमति सरिता साहको नाममा आएको बताईएको छ । साहको नाममा स्कुल आएपछि साविकको बालवटिका स्कुलका संचालक राजन छाराहाङ्गले अहिले आएर बेइमानी गरेको आरोप लगाउनुभयो । ‘अहिले पनि बालवाटिका स्कुलमा भर्ना लिने काम भइरहेको छ । यो गलत तरिका हो । हामीले स्कुल खरिद गरेको सम्पूर्ण कागजपत्र भुक्तानी दिएको प्रमाणहरु सुरक्षित राखेका छौं,’ साहले भन्नुभयोे, ‘नयाँ शैक्षिक सत्र सुरु हुन लागेपछि अहिले छाराहाङले निहुँ खोज्न थालेका छन् ।’
राजन छराहाङ्गलाई १० लाख, छराहाङ्गले भने अनुसार उनका साथी पंकज गुप्तालाई १२ लाख गरी २२ लाख रुपैयाँ दिएको कागज गरेको प्रमाण सुरक्षति गरेको उहाँले बताउनुभयो । साहले छराहाङ्ग विरुद्ध विराटनगर महानगरपालिको न्यायिक समितिमा पनि उजुरी दिनुभएको छ । चैत २३ गते न्यायिक समितिले दुवै पक्षलाइ छलफलमा बोलाएको छ ।
छराहाङले भने २८ लाखमा विक्री गरेको भएपनि साहले साढे ६ लाख रुपैयामा मात्र दिएको दावी गर्नुभएको छ । बालबाटिका बोर्डिङ स्कुलको स्वामित्व आफ्नोमा सारेसँगै नेशनल एकाडमीले कक्षा नर्सरीदेखि १२ कक्षासम्म पठन पाठन सञ्चालनको तयारी गरेको छ ।