विराटनगर,१५ जेठ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला शुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय , विभिन्न तालीम प्रदाय संस्थाहरु , सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालीम तथा रोजगारी व्यवसायी महासंघ, होटल संघ नेपालले विराटनगरको विग होटलमा ५० बटा स्टल राखि रोजगार उपलव्ध गराइने छन् ।
मेलामा अदक्ष, दक्ष युवाहरुलाई स्थानीय उद्योग , व्यवसायिक प्रतिष्ठानले आवश्यक्ता अनुसार रोजगारीको अवसर प्रदान गर्नुका साथै नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक उपलव्ध गराउने महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनु भयो ।
मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने जानकारी पाउनुका साथै रोजगारीका लागि आवश्यक सीपका बारेमा जानकारी समेत गराउने व्यवस्था रहेको अध्यक्ष राउतले बताउनु भयो ।
मेला मधेश प्रदेशमाको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्विनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा वागमतीको ललितपुरमा जेठ २९ र ३० गते आयोजना गरी समापन गरिने छ ।–––