विराटनगर,१६ जेठ । शिक्षा पद्धतिलाई थप प्रभावकारी बनाउने उद्धेश्यले विराटनगरमा गोष्ठीको आयोजना गरिएको छ।
लिटिल एञ्जल्स कलेज अफ म्यानेजमेन्टले विराटनगरका शिक्षकको सहभागितामा कार्यशाला गोष्ठीको आयोजना गरेको छ।
शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाई कार्यक्रमको आयोजना गरिएको कलेजका प्राचार्य डा. मित्रबन्धु पौडेले जानकारी दिनु भयो ।
विराटनगरमा मंगलबार आयोजित गोष्ठीमा प्रशिक्षक समेत रहेका प्राचार्य पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौति र निराशालाई न्यूनीकरण गर्दै शिक्षकको काम प्रभावकारी गराउन कार्यक्रम केन्द्रित भएको बताउनु भयो ।
शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसंगै व्यवहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनेमा जोड दिएका प्रशिक्षक डा.पौडेलले विद्यार्थीसंगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको विषयमा प्रस्टाइएको जानकारी दिए ।
उहाँले भन्नु भयो ‘शिक्षक पेशा मर्यादित हुन्छ । यद्धपी, कतिपय अवस्थामा शिक्षक आफैपनि तनावमा हुन्छन् । कक्षामा शिक्षक तनावमा हुने र विद्यार्थीमा समेत विभिन्न तनाव रहने गरेको पाइन्छ । त्यसको निरुपण लागि केही सकारात्मक सिकाई गराएका हौ ।’
मोरंग औद्योगिक क्षेत्र भएको हुदाँ कार्यक्रममा विद्यार्थीलाई ब्यवसायप्रति उन्मुख गराउनका लागि कसरी शिक्षा दिन सकिन्छ त्यसबारे गहन छलफल गरिएको उनले बताए । उनले भने, ‘ विद्यार्थीलाई उद्योगमा पु¥याएर, ब्यवसायीसंग राखेर धेरै कुराको ज्ञान दिन सकिन्छ । यसबारे शिक्षक र शैक्षिक संस्थाले अलि फरक ढंगबाट प्रस्तुत हुन आवश्यक रहेको छ । यहाँ त ठूलो उद्योगहरु छन्। जसबाट विद्यार्थीले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् ।’
कार्यक्रममा कलेजकी सहायक एकेडेमी डाइरेक्टर डा. स्मृति कला पन्तले विश्वमा फैलिएको कोभिड –१९ महामारीपछि शिक्षण क्षेत्रको विकासबारे प्रस्तुति दिएकी थिइन् ।
त्यसैगरि हिसानका उपाध्यक्ष भेषराज पोखरेलले शिक्षण पेशामा देखिएको समस्या र चुनौति निराकरणका लागि छलफल प्रभावकारी भएको बताएका छन् ।
गोष्ठीमा ४० जना शिक्षकको सहभागिता रहेको उक्त कार्यक्रम डा. पौडेल र डा. पन्तले संयुक्तमा सञ्चालन गरेका थिए ।
गोष्ठीमा विराटनगरका शिक्षादीप कलेज, मेरिल्याण्ड कलेज, अरनिको कलेज, नेशनल एकेडेमी, विराट मोडेल कलेज र ग्रीनल्याण्ड कलेजका शिक्षकहरुको सहभागिता रहेको थियो । त्यसअघि, इटहरीमा सम्पन्न गोष्ठीमा धार्मिक क्षेत्र बराहक्षेत्रको प्रवद्र्धनमा सबै क्षेत्रको पहल आवश्यक रहेको बताइएको थियो ।
डा. पौडेलका अनुसार बराह क्षेत्रलाई धार्मिक सर्किटमा जोड्न सकिने आन्तरिकसंगै बाह्य धार्मिक पर्यटकलाई भित्राउन सकिनेबारे धारणा प्रस्तुत गरेका थिए ।–––